२०८३ जेठ २३, शनिबार    

बागमतीमा उत्पादन र डिजिटल रूपान्तरणमा केन्द्रित बजेट ल्याइने

२०८३ जेठ १२, मंगलबार १०:१२ बजे

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट उत्पादन, रोजगारी सिर्जना, सुशासन र डिजिटल रूपान्तरणमा केन्द्रित गर्ने संकेत दिएको छ ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता (कर बाहेक) सम्बन्धी प्रस्ताव पेस गर्दै यस्तो जानकारी दिए ।

मन्त्री तामाङले प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिने बताए । उनका अनुसार आगामी बजेटमा आर्थिक अनुशासन कायम गर्दै पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि आधुनिकीकरण, उद्यमशीलता प्रवर्द्धन, पर्यटन विकास, सामाजिक न्याय तथा विपद्व्य व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ।

प्रदेश सरकारले दिगो विकास लक्ष्यसँग सामञ्जस्य हुने गरी योजना तथा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि मन्त्री तामाङले जानकारी दिए । उनले वर्तमान आर्थिक शिथिलता, आन्तरिक राजस्व संकलनमा आएको संकुचन तथा उत्पादन क्षेत्रमा देखिएको मन्दीलाई सम्बोधन गर्न खर्च व्यवस्थापनमा कडाइ गरिने स्पष्ट पारे ।

विगतमा पहुँच र प्रभावका आधारमा बजेट विनियोजन हुने प्रवृत्तिलाई नियन्त्रण गर्दै आयोजना बैंकको पूर्ण कार्यान्वयनमार्फत योजना छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाइने सरकारको प्रतिबद्धता रहेको मन्त्री तामाङको भनाइ थियो।